
२२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताएका छन् ।
शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘विप्लवजी अन्तत्वगत्वा मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।’
यस्तै अध्यक्ष प्रचण्डले आफूले विप्लवलाई राम्रोसँग चिनेको बताउँदै उनी अन्ततः नेकपामै आउनै पर्ने बताए । उनले विप्लव अलगिने दिन नै आफूले अब दोस्रो प्रचण्ड बन्न सम्भव नभएको बताएको स्मरण गर्दै आफ्नै बाटोमा आएकोमा धन्यवाद दिए ।
‘मैले उहाँलाई बुझेको छु, चिनेको छु । अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ’, उनले भने, ‘जतिबेला उहाँ मबाट अलगिनु भयो त्यतिबेलै मैले एउटा दिन आउनेछ त्यहीबेला तपाईं हुनुहुनेछ भनेको थिएँ । मैले भनेको थिएँ अर्को प्रचण्ड अहिले हुँदैन, एउटा हुन्छ । एउटा कालखण्डमा एउटा हुन्छ। अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो ।’
उनले आफूहरु नेतृत्वको नेकपा केन्द्रीय समितिको संख्या, संसदीय दल, देशभर भएको आन्दोलन आदिका हिसाबले मूलपार्टी प्रमाणित भइसकेको बताए ।