
२४ फागुन, काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २७ विद्यालयका १ हजार ५२० छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।
साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । यसका लागि प्रदेश भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको उनले बताए ।
यसअघि प्रदेश सरकारले २०७५/०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरेकाे थियो । प्रदेशका छोरीहरूलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अगाडि बढाएको मुख्यमन्त्री राउतकाे भनाइ छ ।
कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई समेत सम्मान गरिएको छ ।