समाचार

स्वार्थको मिलन, स्वार्थकै विछोड

oli madhav prachanda

२५ फागुन, काठमाडौं । २०७२ सालमा नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा चुनिएका थिए । महाधिवेशन भएको तीन वर्षमै अध्यक्ष ओलीले तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीबीच एकीकरण गराएर एमाले पार्टी विघटन गराइदिए । पार्टी विघटन हुनुपूर्व सत्ता स्वार्थबाट प्रेरित भएर संघीय संसद्को निर्वाचनमा दुई पार्टीबीच चुनावी गठबन्धन गरे ।

एउटै घोषणापत्रमा निर्वाचनमा भाग लिए र जनतामा गए । जनताले पनि पत्याइदिए, झन्डै दुईतिहाइ मत दिएर सरकारमा पठाए । तत्कालीन एमालेकै तर्फबाट ओली प्रधानमन्त्री बने । दुईतिहाइ मतको हाराहारीमा पुगेको नेपालको कम्युनिष्ट पार्टीले बलियो सरकार बनायो । त्यसको नेतृत्व हालका प्रधानमन्त्री ओलीले गरे । नेपालको इतिहासमा २०१५ सालपछिकै सबैभन्दा बलियो सरकार २०७४ साल फागुनमा बनेको थियो ।

सरकार बन्नुपूर्व दुई पार्टीको एकीकरण गर्ने र त्यही अनुसार अघि बढ्नेगरी तत्कालीन एमाले अध्यक्ष र तत्कालीन माओवादी केन्द्रका अध्यक्षले सत्तासाझेदारीका लागि तीनबुँदे सहमति गरेका थिए । त्यो सहमति धेरै समयसम्म गोप्य राखियो । दाहालले भारत भ्रमण गरेका बेला आधाआधा कार्यकाल सत्तासाझेदारीको गोप्य सम्झौता गरेको रहस्य खोलेपछि विवाद सुरु भयो । दुई अध्यक्ष बनाइएको पार्टीमा एउटा अध्यक्ष प्रधानमन्त्री बन्ने र अर्को अध्यक्षले पार्टी सञ्चालन गर्ने सहमति पनि भयो तर त्यस्तो सहमति कार्यान्वयन हुने र गति लिने अवस्था आएन ।

सत्तास्वार्थमा पार्टीभित्र पटकपटक आएको विग्रहमा माधव नेपाल समूहलाई जसरी पनि किनारा लगाउने काम भयो । नेपाल पक्षले आन्तरिक संंघर्ष अघि बढाउँदा बढाउँदै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरिदिए । संसद् विघटन भएपछि भने एकीकृत नेकपा राजनीतिक रूपले विभाजित भयो । आइतबार सर्वोच्च अदालतले नेकपा नाममा फैसला सुनाउँदा ऋषि कट्टेलका पक्षमा भएपछि भने दुई पार्टीलाई एकीकरणपूर्वकै अवस्थामा फर्कादियो । जसका कारण सत्तास्वार्थमा जोडिएका दुई कम्युनिस्ट पार्टीहरू पूर्ववत् अवस्थामा फर्कन बाध्य भए । आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस