
२६ फागुन, काठमाडौं । नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोइराला अब गायिकाको रुपमा देखा पर्ने भएकी छन् । महाशिवरात्रिको अवसर पारेर उनले ‘महामृत्युञ्जय’ भजन सार्वजनिक गर्न लागेकी हुन् । केही दिन अगाडि उनकै स्वरमा रेकर्ड भएको यो भजन नेपाल तथा भारतमा एकसाथ सार्वजनिक हुने बताएको छ । कोइरालाको स्वरमा रेकर्ड भएको यो पहिलो गीत (भजन) हो ।
भजन सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा कोइरालाले भजन ल्याउन लागेकी हुन् । जसको जानकारी उनले बुधबार एक ट्वीट मार्फत गराएकी छन् । ट्वीटमा उनले भजनको सार्वजनिक र सहकार्यबारे जानकारी दिएकी छन् ।
सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई आफैंले संगीतबद्ध गरेर तयार गरेका हुन् । भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि स्वर रहेको छ । भजनको म्युजिक भिडियो भोली एक कार्यक्रमका बीच सार्वजनिक गर्ने योजना बनाइएको छ । साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।
https://twitter.com/mkoirala/status/1369493983831805952