समाचार

मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरु हुन्छ : ओली

oli sport

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा आज आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको जानकारीसमेत दिए ।

“मिर्गौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ”, उनले भने । प्रधानमन्त्री ओलीले समेत दुईपटक मिर्गाैला प्रत्यारोपण गराइसकेका छन् ।

पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए । “केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ”, उनको भनाइ थियो ।

मिर्गौला रोगजस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओली सम्बोधनपछिको प्रभातफेरीमा पनि सहभागी भएका थिए। वसन्तपुरबाट शुरु भएको प्रभातफेरी रत्नपार्क, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेको थियो ।

वरिष्ठ मिर्गौला रोगविशेषज्ञ डा ऋषिकुमार काफ्लेले वर्षेनी नेपालमा तीन हजार व्यक्तिको मिर्गौला बिग्रने गरेको बताए । उनले जीवनशैली, खानपान ख्याल नगर्दा मानिसको मिर्गाैला बिग्रने गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस