२८ फागुन, काठमाडौं । सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो । जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री ओलीसहित एमाले शीर्ष नेताहरूसँगको वार्तामा तीनबुँदे प्रस्ताव राखिएको जसपा नेता अशोक राईले बताए । ‘हामीले तीनबुँदे प्रस्ताव राख्यौं, सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा कुरा गर्यौं’, नेता राईले अन्नपूर्ण पोस्ट्सँग भने, ‘प्रधानमन्त्रीले हाम्रा मागप्रति सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ ।’
जसपाका नेताहरूले विगतमा पनि आफ्ना मागका विषयमा पटक–पटकका छलफलमा सरकारको तर्फबाट जवाफ सकारात्मक आउने तर कार्यान्वयन नभएको प्रसंग उठाएका थिए । त्यसपछि उनीहरूले आफ्ना मागप्रति सरकारको प्रस्ट धारणा र कार्यान्वयनको खाका आउनुपर्ने बताएका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले भने आफू जसपाको माग सम्बोधन गर्न तयार रहेको र यसको व्यावहारिक पक्षबारे छलफल गर्न कार्यदलस्तरमा मोडालिटीबारे अगाडि बढ्न आग्रह गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।