
२८ फागुन, काठमाडौं । तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे । सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु ।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँचवर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ ।
पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्य गर्नुको साटो देउवा त्यसकै दलदलमा फसेका छन्। विभिन्न स्वार्थ समूह हावी हुँदा विधिविधानअनुसार कार्यसम्पादन गर्न असफल देउवाले सहमतिबाट पनि पार्टी चलाउन सकेनन् । सहमतिबाट अघि बढ्न खोजे विधिविधान, विधिविधानअनुसार चल्न खोजे सहमतिको उल्झन देउवाले कार्यकालको सुरुदेखि नै खेप्दै आएका छन् । विगतमा देउवाले नै पार्टी नेतृत्वबाहिर छँदा नेतृत्वलाई अप्ठेरो पार्न र आफ्नो स्वार्थ पूरा गर्न केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए। अहिले असन्तुष्ट पक्षले देउवाको त्यही नीति अख्तियार गरेको छ । जसले कांग्रेस गतिहीन मात्र बन्न पुगेको छैन, देउवाको भागमा अपजसमात्र आइलागेको छ ।
सभापतिमा निर्वाचित भएर पनि देउवालाई पार्टीभित्रै त्यस भूमिकामा अस्वीकार गर्नु। २० वर्षसम्म कोइराला परिवारको वरिपरि घुमेको कांग्रेस नेतृत्वमा देउवा प्राविधिक रूपमा त पुगे तर विद्रोही (पार्टी विभाजन गरेर फेरि आएका) नेताकै रूपमा उनलाई हेरिँदा इतर पक्षले न काम गर्न सहयोग गर्यो न त भएका सकारात्मक कामको स्वामित्व लियो । आजको नागरिक दैनिकमा समाचार छ ।