समाचार

हुम्लामा दैनिक २० घण्टा लोडसेडिङ

loadshedding

२८ फागुन, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो ।

विद्युत्गृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा सिमकोटमा सञ्चालित व्यवसाय धरापमा परेका छन् । विद्युत् आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ । सिमकोटमा यस्ता फर्निचर व्यवसाय सातवटा भएको र लोडसेडिङ बढेपछि ती सबै बन्द गर्नुपर्ने अवस्था आएको सिमकोटमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका नन्द सिंहले जानकारी दिए ।

त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका सुनमति सिंहले गुनासो गर्नुभयो । दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहँदै आएको सिंहले बताए । दैनिक लोडसेडिङको समय बढ्न थालेपछि तीन दर्जन यससँग सम्बन्धित व्यवसाय मर्कामा परेका छन् ।

लोडसेडिङको समय बढ्दै गएपछि विद्यार्थीलाई थप समस्या बनाएको छ । राति १० बजेपछि मात्रै विद्युत् आपूर्ति हुँदा विद्यालयमा दिएको गृहकार्य गर्न समस्या बनाएको मानसरोवर माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा एञ्जिला रोकायाले बताए। यस्तै जेठमा हुने एसइईको तयारी गरिरहेका छात्रछात्रालाई झन् समस्या बनाएको छ । गाउँबाट ट्युसन पढ्नका लागि सदरमुकाम सिमकोट आएका विद्यार्थीलाई दैनिक २० घण्टा लोडसेडिङ हुँदा समस्या बनाएको छ ।

विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पताल हुम्लालाई समेत समस्या भएको छ । दिउँसो समयमै विद्युत् आपूर्ति नभएर लोडसेडिङ हुँदा विद्युत्को माध्यमबाट हुने काम ठप्प भएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिए । यस्तै सदरमुकाम सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्नसमेत समस्या बनाएको छ ।

हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत्गृहका लागि पानीको स्रोत कम हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । उनले भने, “५०० किलोवाट विद्युत् उत्पादन गर्ने आयोजनाबाट हाल १४० देखि १५० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ । यसले झन् समस्या परेको हो ।” वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० सेवाग्राहीलाई दैनिक एक मेगावाट विद्युत् वितरण गर्नुपर्नेमा उत्पादनकै कमीले गर्दा लोडसेडिङ गर्नुको विकल्प नभएको उनले बताए ।

पानीको स्रोत कम भएपछि आयोजना नजिकको लाङ्दुखोलाबाट पानी ल्याएर मूल नहरमा मिसाउने कामका लागि बोलपत्र भएको तर काममा ढिलाइ भएका कारण पनि समस्या आएको उनले बताए । केन्द्रले निर्माण व्यवसायीलाई छिटो पानी ल्याएर मूल नहरमा मिसाउने काम गर्न ताकेता गरिसकेको प्रमुख ऐडीले बताए । पानी अपुग हुने भएर वितरण केन्द्रले विद्युत्गृहमा दुईवटा स्टक पानीट्ङकी बनाए पनि यसको प्रयोग आउन सकिरहेको छैन । ठेकेदारले बर्सेनि मर्मतका नाममा आफूले पैसा लिन पाउने भएका कारण पनि यस्तो समस्या आउने गरेको हो । ठेकेदारले मर्मतका नाममा बर्सेनि पैसा खान पाउने भएपछि समयमै मर्मत गर्न नसकेको एक स्थानीयवासीले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस