
२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् ।
नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिको कार्यक्रममा शुक्रबार उनले ओली सरकारलाई हटाएर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताएका हुन् । यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि उनको भनाइ छ । उनले भने, “नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ । आज पनि मधेसवादी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिए । नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताए । उनले भने, “सम्भव हुन्छ, सकिन्छ भने यहीपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्नेछ र नेपाली कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले हामीले सरकार बनाएर जनताका संकल्पहरु पूरा गर्ने काम गर्नुपर्छ ।”