समाचार

तातोपानी नाकाबाट पहिलो पटक नेपालमा भित्रियो रासायनिक मल

tatopani naka

२९ फागुन, काठमाडौं । उत्तरी सीमानाका तातोपानीबाट पहिलोपटक नेपालमा रासायनिक मल भित्रिएको छ । तातोपानी नाकाबाट यसअघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेको भए पनि यो साता भने ८० हजार बोरा अर्थात चार हजार टन रासायनिक मल भित्रिएको छ । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले यही फागुन २३ गते पहिलोपटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए । अहिलेसम्म २८० टन युरिया मल आइसकेको छ । हरेक दिन चार-पाँचवटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले जानकारी दिए । उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकहरुले समयमै प्रयोग गर्न पाउने हुँदा मल आयात गरेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए ।

चीनबाट पाँच दिनमा नाकासम्म र सात दिनभित्र काठमाडौंसम्म मल ल्याउन सकिने उनको भनाइ छ । शुरुमा परीक्षणका लागि सानो परिमाणमा ४ हजार टन मल नेपाल ल्याइएको हो । कृषि मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट मल ल्याउँदा कृषकहरुलाई मूल्यमा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने बताउनुभयो । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानले छिटै प्रयोग गर्न पाउने छन् ।

चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोबल टेन्डर मार्फत सिल्कले अनुमति पाएको हो । भारत हुँदै ल्याउने विकल्पमा अहिले तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो । तातोपानी नाकाबाट मल आउन सके किसानलाई समयमै सहज मल उपलब्ध गराउन सकिने कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले बताए , हाल किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् । बंगलादेशबाट जिटुजीमार्फत मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात शुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव नहुने दावी महानिर्देशक डा. शर्माले गरे ।

आयात गरिएको प्रत्येक कन्टेनरमा ५ सय वटा बोरा हुन्छ । एउटा बोरामा ५० केजी युरिया मल हुन्छ । मलको प्रति बोरा औसत खरिद मूल्य २ हजार ३ सय २२ रूपैयाँ ४४ पैसा रहेको छ । १ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा अनुदान सहित काठमाडौं, बनेपा, विदुरका किसानले ८ सय ८८ रुपैयाँ ६७ पैसा प्रति बोरामा मल खरिद गर्न पाउनेछन् ।

भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा सञ्चालनमा आएको हो । नाकाबाट दैनिक १४ कन्टेनर सामान पनि आयात भइरहेको छ । अहिले सबैभन्दा बढी मल आयात भइरहेको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीले अहिले मलको मात्र आयात गर्ने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस