प्रदेश १

ताप्लेजुङका तीन स्थानीय तहमा ग्याल्पो ल्होसारको विदा

sarbajanik bida

१ चैत, ताप्लेजुङ । ताप्लेजुङको तीन स्थानीय तहले ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजानिक बिदा दिएका छन् । मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाले ग्याल्पो ल्होसारमा सार्वजानिक बिदा दिएका हुन् ।

शेर्पा समुदाय बसोबास भएको स्थानीय तहले ग्याल्पो ल्होसारको दिन सार्वजानिक बिदा दिएको मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर तुम्बाहाङ्फेले बताए। ताप्लेजुङको मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोला गाउँ पालिकामा शेर्पाहरुको बाहुल्य छ।

बौद्ध धर्मावलम्बीको पर्र्व ग्याल्पो ल्होसार मान्यताअनुरूप हिमवत्खण्डबाट शुरु भएको ‘च्या लो’ (चरा वर्ष) लाई बिदा गरी ‘खि लो’ (कुकुर वर्ष) मनाइँदै  आएको छ । बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चारवटा लोसार उल्लेख छ ।

शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारैवटै ल्होसारको मनाउने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ घुन्सा निवासी पेमा शेर्पाले बताए । ल्होसारमा छेमार र छेयाङ्फुद सजाउने गर्छन् । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर आफ्ना आफन्तलाई शुभकामना दिने गरेको शेर्पाले बताए । प्रत्येक वर्ष १२ लो (बाँदर, चरा, कुकुर, सुङ्गुर, मुसा, गाई, बाघ, बिरालो, ड्र्यागन, सर्प, घोडा र भेंडा) वर्ष परिवर्तन भएर नयाँ वर्षको शुरुआत हुन्छ ।

तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो लोसार मनाइने गरिन्छ । हिमाली क्षेत्रका बासिन्दाले ल्होसार (नयाँ वर्ष) लागेको शुभ सङ्केतस्वरूप जौ र गहुँका बाला राख्ने गर्छन् । पात्रो अनुसार १२औंँ महिनाको पहिलो दिन सोनाम ल्होसार मनाउने गरेको फक्तालुङ गाउँपालिका–७ निवासी छेतेन लामाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस