
२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फेरि डोजर चलाएको छ । केही समयअघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आइतबार फेरि डोजर चलाएर थप संरचना भत्काएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यही अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर (काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) कै निर्देशन अनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जानकारी दिए ।
दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको र वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने जानकारी दिए । ज्ञवालीले अस्थायी बसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्टै त्यसलाई समेत खुला गर्ने जानकारी दिए ।