बैँक / वित्त

सुन्दरहरैचाका नगरपालिकाका युवाहरुलाई नेपाल बंगलादेश बैंकले ४ प्रतिशत ब्याजमा कर्जा दिने

nbb and sundarharaicha

२ चैत, काठमाडौं । नेपाल बंगलादेश तथा सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुलेले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता गरिेएको छ ।

कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख  शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख  कृष्ण प्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गर्नेछ र त्यसकै आधारमा नगरले बैङ्कसँग ऋण प्रदान गर्न सिफारिश गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ ।

बैङ्कका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिनुभयो । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैङ्कसँग सहमति भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भएपनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । सम्झौता अवधी समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस