२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताएकी छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्थापना कालदेखिनै चेम्बरले उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गरेको र त्यसले देशको आर्थिक विकासमा महत्वपूर्ण आधार निर्माण भएको बताएका हुन् ।
उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र नेपाली व्यवसायीको व्यवसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको बताए । औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिले बताइन् ।
उनले भनिन्, ‘चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विभिन्न प्रदर्शनीहरूको आयोजना गर्नुका साथै प्रवर्द्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।’ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड १९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरुलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको पनि राष्ट्रपतिले प्रशंसा गरिन् ।
कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताए । “तपाईँहरूका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान छ”, उनले भने, “सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर मात्र यो लक्ष्य पूरा गर्न सकिन्छ । आउने दिनमा पनि तपाईँहरूसँग जिवन्त सहकार्यका लागि सरकार आह्वान गर्दछ ।”
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताए । “सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्”, उनले भने, “हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ ।” चेम्बरले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । सोमबार आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले स्मृति ग्रन्थ विमोचन गरिन् । यस्तै कार्यक्रममा चेम्बरले पूर्वअध्यक्षहरूलाई सम्मान गरेको छ ।
संस्थापक अध्यक्षहरू स्व. लोकनाथ जोशी, स्व. जुद्धबहादुर श्रेष्ठ, स्व. बिहारीलाल खेतान, स्व. गोबद्र्धनलाल मास्के, स्व. रतिराम अग्रवाल, स्व. जनकदास श्रेष्ठ, स्व. बालकृष्ण श्रेष्ठ, स्व. इन्द्रभक्त श्रेष्ठ, स्व. राजबहादुर चिपालु, स्व. बनवारीलाल मित्तल, स्व. ईश्वरलाल श्रेष्ठका परिवारले सम्मान ग्रहण गरे । यस्तै पूर्व अध्यक्षहरू महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र अध्यक्ष राजेशकाजी श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गरिन् ।