गण्डकी प्रदेश

चैत र वैशाखभर गोरखा दरबार सङ्ग्रहालय सबै दिन खुला हुने

gorkha darbar

३ चैत, गोरखा । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङ्ग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुला हुने भएको छ । सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको दिन पनि खुला गर्ने निर्णय गरिएको सङ्ग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । “यसअघि हरेक हप्ताको मङ्गलबार र सार्वजनिक बिदाको दिनमा सङ्ग्रहालय बन्द हुँदै आएको थियो”, उनले भने, “अब चैत र वैशाख महिनामा भने सबै दिन सङ्ग्रहालय खुल्ला रहनेछ ।”

सङ्ग्रहालयमा नेपाल एकीकरणका प्रणेता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि  शाह वंशका पालामा लडाइँ गर्दाका हातहतियार छन् । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडावर्तन फोटो तथा चित्रकलाका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति सङ्ग्रहालयमा अवलोकन गर्न पाउँछन् ।

पर्यटकले सङ्ग्रहालयभित्र रहेका तेल चित्रकक्ष, वंशावलीकक्ष, जन्मकुण्डलीकक्ष, दिव्यउपदेशकक्ष, हातहतियारकक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकीकक्ष, परिचात्मककक्ष, भडाँवर्तनकक्ष, श्रव्यदृश्यकक्ष, चैत्यकक्ष र हस्तलिखित गरी १२ वटा प्रदर्शनीकक्षको अवलोकन गर्न समेत पाउने छन्  । विसं २०४३  मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी सङग्रहालयलाई पृथ्वी स्मृति सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा सङ्ग्रहालयका रुपमा विकास गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस