
३ चैत, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री के.पी.शर्मा ओलीले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएमा अनशन बस्ने चेतावनी दिएका छन् ।
डा.केसीले मंगलबार पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर सरकारले सम्बन्धको प्रक्रिया अघि बढाएमा अनशन बस्ने बताए । त्यसपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
उनले बीएन्डसी कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोक्न माग गरे । अनियमित तरिकाले सम्बन्धन दिने प्रक्रियामा संलग्न काठमाडौं विश्वविद्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग गरेका छन् ।
चिकित्सा शिक्षा ऐन र नियमावलीको उल्लंघन गरेर प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा बीएन्डसी कलेजलाई सम्बन्धन दिन लागिएको उनको भनाइ थियो । यसका लागि शिक्षामन्त्री श्रेष्ठले केयू र बीपी प्रतिष्ठानसँग गोप्य सम्झौता गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले पनि झापामा क्यान्सर अस्पतालको उद्घाटन गर्दै बीएन्डसी कलेजलाई सम्बन्धन दिने बताएका थिए । यो व्यवसायी दुर्गा प्रसाईँको कलेज हो ।