
४ चैत, काठमाडौं । भारतमा मंगलबार एकैदिन कोरोनाका २८,८६९ संक्रमित भेटिएका छन् । यो यस वर्षको सबैभन्दा धेरै आँकडा हो । यसअघि यति संक्रमित अघिल्लो वर्ष १५ जुलाईमा भेटिएका थिए ।
यस्तै कोरोनाको संक्रमण बढ्न थालेपछि गुजरातका चार शहर–अहमदाबाद, सूरत, वडोदरा र राजकोटमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ । यस्तै, मध्यप्रदेशको राजधानी भोपाल र इन्दौरमा बुधबारदेखि नाइट करफ्यू लगाउने निर्णय गरिएको छ । जबलपुर, ग्वालियर, उज्जैन, रतलाम, छिन्दवाडा, बैतूल, खरगोनमा राती १० बजेदेखि बजार बन्द रहनेछ । यो शहरमा कर्फूजस्तो स्थिती रहनेछैन तर व्यापारिक बजार अनिवार्य रुपमा बन्द हुनेछ ।
भारतमा कोरोना पुनः तीब्र रुपमा बढिरहेको कुरा पछिल्लो एक महिनामा सक्रिय संक्रमितको संख्या ६३ प्रतिशतभन्दा बढीको बढोत्तरीमार्फत् पुष्टि हुन्छ । १५ मार्चमा सक्रिय संक्रमितको यो आँकडा बढेर सवा दुई लाख पार गरेको छ । दुई महिना अघि अर्थात् ८ जनवरीको आसपास सक्रिय बिरामी सवा दुई लाख थिए ।