मुख्य समाचार

प्रदेश नं २ को विद्युत प्रणाली सुधारका भारतीय कम्पनीसँग ४ अर्बको ठेक्का सम्झौता

contract sign

५ चैत, काठमाडौं । प्रदेश नम्बर–२ का आठ जिल्लामा विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्टबीच बुधबार प्रदेश–२ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ । आयोजनामार्फत प्रदेश नं २मा पर्ने जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरुसहितका ३३/११ केभी, १६..६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिने छ । यसैगरी, ३३/११ केभी, ८ एमभीए क्षमताका दुई वटा सबस्टेसनको निर्माण गरिने छ । उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ ।

यसका साथै प्रदेश नं २का जिल्लाहरुमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने छ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत संचालित हुनेछ ।

प्राधिकरणका तर्फबाट सम्झौतापत्रमा आयोजना प्रमुखहरु विमल चौधरी, रोशन खड्का, रन्धिर पाठक र अमित भगत, लेखाप्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनियहरु वसन्त नेपाल र विसमविनोद खनालले र टाटा प्रोजेक्टका तर्फबाट महाप्रबन्धकहरु श्यामनारायण मित्तल र मनोजकुमार पटनायकले हस्ताक्षर गरेका छन् ।

आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९०० दिन अर्थात् ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । काम सम्पन्नपश्चात् प्रदेश–२ को समग्र विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र घरायसी ग्राहकहरुले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताए । उनले उच्च प्राथमिकताको आयोजना भएकाले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

निर्धारित समयभन्दा पहिले नै सक्ने लक्ष्यका साथ काम अगाडि बढाइने टाटा प्रोजेक्टका आयोजना प्रमुख सन्दीप कुमारले प्रतिबद्धता जनाए । आयोजनाबाट प्रदेश–२ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काम हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस