समाचार

कहाँ हराउँछन् बालबालिका ? ७ महिनामा झन्डै २ हजार हराए !

Child

६ चैत, काठमाडौं । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन् । साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ । ९ सय ९५ जना भेटिएका छैनन् ।

यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए । २ सय २१ बालक र ७ सय ७२ बालिका खोजी गरी परिवारमा पुनर्मिलन गराइएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए । हराएकामध्ये धेरै बालिका रहेको जनाइएको छ । पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा पनि धेरै बालबालिका भेटिएको देखिँदैन ।

परिषद्अन्तर्गतको बालबालिका खोसतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले साथीको लहैलहैमा लागेर सहर छिरेर हराउने गरेको पाइएको बताए । आर्थिक अवस्था, घरायसीलगायत कारणले बालबालिका घर छाडेर हिँडेपछि हराएका घटना धेरै भेटिएको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार सन्तान हराएपछि आत्तिएर अभिभावक प्रहरीमा उजुरी गर्छन् ।

अलि–अलि बोकेर ल्याएको पैसा सकिन्छ अनि उनीहरू बेवारिसे हुन्छन् । त्यसरी हिँडेका कतिपय सडकमा भेटिन्छन् । कतिपय होटललगायत ठाउँमा मजदुरी गरिरहेका हुन्छन् । काठमाडौंको हकमा धेरै बालबालिका पशुपतिनाथ मन्दिर वरिपरि भेटिन्छन् । अन्य सहरमा पनि मन्दिरमै भेटिन्छन् । हराएका अधिकांश बालबालिका जोखिमयुक्त अवस्थामै भेटिने गरेको अधिकारीले सुनाए । कोही भने आफन्तका घरमा पनि भेटिने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस