समाचार

सहायक सिडिओ हुँ भन्दै ठगी गर्ने पक्राउ

dipak budha

६ चैत, सुर्खेत । आफू सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको आग्रहमा उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाले उनीमाथि अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नै छैन ।

प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ ।’

प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस