प्रदेश १

सोलुखुम्बुमा एक महिनामै दुई मोटरेवल पुल निर्माण

pul nirman

६ चैत, सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा २८ दिनमै दुई वटा मोटरेबल पुल निर्माण गरिएको छ । मङ्सिर १० गते शिलान्यास गरिएको मोटरेवल पुलको काम २८ दिनमा सम्पन्न भएको बेनी हाइड्रोपावर प्रोजेक्टका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले जानकारी दिए ।

बेनी हाइड्रोपावर सोलुदूधकुण्ड नगरपालिका–२ जुनवेशी हुँदै बग्ने इडिङबासा र मिन्जुङ खोलामा निर्माण गरिएको सो पुलको उद्घाटन गरिएको जनसम्पर्क अधिकृत शेर्पाले बताए । इडिङबासा खोलामा रु ६८ लाख ३६ हजार २३७ को लागतमा १३ मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल निर्माण गरिएको कम्पनीले जनाएको छ । यस्तै मिन्जुङ खोलामा रु  ११ लाख ९९ हजार १५८ मा तीन मिटर लम्बाइ ४.६ मिटर चौडाइको निर्माण गरिएको बताइएको छ ।

उक्त पुलको क्षमता ३० टन रहेको निर्माण कम्पनीले जनाएको छ । नवनिर्मित पुलको उद्घाटन सेरलो गुम्बाका प्रमुख धर्मगुरु पेमा थार्चेन रेम्पोच्छेले गरेका छन् । हिमालय बौद्ध विद्यापीठ सेर्लोले आयोजना गरेको उक्त कार्यक्रममा सयौँ स्थानीयको उपस्थिति थियो । बेनी हाइड्रोपावर कम्पनीले सामाजिक उत्तरदायित्व शीर्षकको बजेटबाट निर्माण गरेको पुल गुणस्तरीय भएको स्थानीयको प्रतिक्रिया छ । छोटो समयमा गुणस्तरीय काम हुनु स्थानीयको लागि खुशीको कुरा रहेको उनीहरूको भनाइ छ ।

सामाजिक उत्तरदायित्वको बजेट कम भए पनि स्थानीयको मागअनुसार आफूले काम गरिहेको बेनी हाइड्रो पावरले जनाएको छ । पुल, सडक र बिजुली बत्तीको क्षेत्रमा आफूहरूले काम गरेको कम्पनीका अधिकृत शेर्पाको भनाइ छ । सोलु खोलामा निर्माणाधीन बेनी हाइड्रोपावर १९ मेगावाटको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस