
७ चैत, काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित एक अध्ययनले देखाएको छ ।
कोरोना पुनः संक्रमण सम्भावनासम्बन्धी डेनमार्कमा भएको एक बृहत् अध्ययनले शून्य दशमलब ६५ प्रतिशतमा मात्र दोस्रोपटक पिसिआर परीक्षण पोजेटिभ देखाएको छ । अध्ययनले ६५ वर्ष उमेरभन्दा कम उमेरका मानिस भाइरसबाट ८० प्रतिशतले सुरक्षित हुने तर ६५ वर्ष उमेरमाथिका ४७ प्रतिशत मात्र सुरक्षित रहने देखाएको छ ।
डेनमार्कको स्टेटन्स सेरम इन्स्टिच्युट, कोपेनहेगन विश्वविद्यालय र स्विडेनमा रहेको युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले गरेको उक्त अध्ययनले संक्रमण भएको ६ महिनापछि सुरक्षाको स्तर घट्ने प्रमाण नभेटिएको देखाएको छ । अध्ययन नतिजाले वृद्धहरूलाई भाइरसबाट बढी सुरक्षित गर्न यसअघि अवलम्बन गरिएका रणनीतिलाई सही प्रमाणित गरेको मेडिकल जर्नल ल्यान्सेटले जनाएको छ ।
‘यो अध्ययनले भाइरसबाट संक्रमित भइसकेका वृद्धहरूले खोप लगाउनुपर्ने देखाएको छ,’ उक्त जर्नलद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ । यसअघि भएका अध्ययनले पनि संक्रमित भइसकेकाहरू कम्तीमा ६ महिनासम्म सुरक्षित रहने देखाएका थिए तर यो अध्ययनले सुरक्षाको समग्र स्तर राम्रो रहेको र यो सुरक्षा उमेर समूहअनुसार फरकफरक हुने देखाएको छ । अध्ययन नतिजालाई प्रकाश पार्दै स्टेटन्स सेरम इन्स्टिच्युटका डा. स्टिन इथेलबर्गले यो अध्ययनले पुनः संक्रमण दरसम्बन्धी यसअघि भएका अध्ययनको नजितालाई पुष्टि गरेको बताए ।
‘हाम्रो अध्ययनले युवा तथा स्वस्थ मानिसमा पुन संक्रमणको सम्भावना विरलै रहने देखाएको छ तर वृद्धहरूमा यो जोखिम अत्यधिक देखिएको छ । वृद्धमा भाइरसको लक्षण पनि देखिने र मृत्युको सम्भावना पनि अत्यधिक हुँदा यो अध्ययनले त्यो समूहको सुरक्षाका लागि नीतिगत व्यवस्था गर्नुपर्ने देखाएको छ’, उनले भने । यो समाचार आजको नागरिक दैनिकमा होली इलियाटले लेखेका छन् ।