विश्व/प्रवास

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

sunami

७ चैत, काठमाडौं । जापानको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । सुरूमा ७.२ म्याग्निच्युडको कम्पनको अनुमान गरिएको भए पनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्निच्युडको पुष्टि भएको बताएका छन् ।

अमेरिकी भूगर्भ विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्निच्युडको रहेको जनाएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउन सक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् ।

स्थानीय समयानुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले जनाएको छ । भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरंग निस्कन सक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।

जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य संकेतको महसुस नगरिएको बताइएको छ । जापानमा यसपहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा बेपत्ता भएका थिए । १० वर्षपहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनाशलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षितस्थलतर्फ हतार-हतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ ।

सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी सहरका एक स्थानीय ताकासी योकोताले एएफपीलाई बताए । जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको तर सावधानीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन दिएका छन् । –एएफपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस