
८ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरिएकोप्रति खनालको नीजि सचिवालयले खण्डन गरेको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले प्रेस विज्ञप्ति जारी गरी ‘केही अनलाइन तथा छापाहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनी शीर्षक राखी समाचार सम्प्रेषण गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ भनेका छन् ।
लेखिएको छ, ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको अवस्था हो । बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन । कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सुचना सम्प्रेषण गर्नु भन्दाअगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ ।’
भट्टराईले अगाडि लेखेका छन्, ‘यस्ता खालका भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । तसर्थ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सुचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा हार्दिक आग्रह गर्दछु ।’