विश्व/प्रवास

अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपतिमाथि कडा आरोप लगाएलगत्तै राजदूत मस्को फर्किए

anatolly

८ चैत, काठमाडौं । संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किएका छन् । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गर्नु भएको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनावबीच रुसी राजदूत फिर्ता भएका हुन् ।

रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतसँग परामर्श गर्न भन्दै उनलाई फिर्ता बोलाएका हुन् । अमेरिकी राष्ट्रपति बाइडेनले अघिल्लो साता एक अमेरिकी टेलिभिजनलाई दिनु भएको अन्तर्वार्तामा पुटिनलाई ‘हत्यारा’ भनेका थिए । अमेरिका र रुस बीचको सम्बन्ध यसअघि नै निकै कमजोर स्तरमा पुगेको थियो । रुसले अमेरिकी राष्ट्रपतिको चुनावलाई प्रभावित पार्नेगरी विभिन्न गतिविधि गरेको तथा रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई जेलमा पठाएको भन्दै अमेरिकी राष्ट्रपति बाइडेन आक्रोशित भएका छन् ।

रुसी समाचार संस्थाका अनुसार अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभ आइतबार बिहान मस्कोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । मस्को प्रस्थान गर्नुअघि न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफू आवश्यकता अनुसार मस्कोमा रहने बताएका थिए । बताइएअनुसार उनी मस्कोमा आयोजना हुने विभिन्न बैठकमा सहभागी हुनेछन् ।

मस्कोले आफ्ना राजदूतहरुलाई बिरलै स्वदेश फर्काउने गरेको छ । यसअघि सन् १९९८ मा इराकमा पश्चिमा मुलुकले गरेको हवाई आक्रमणपछि रुसले अमेरिकाका लागि आफ्ना राजदूत फिर्ता बोलाएको थियो । सन् २०१४ मा युक्रेनबाट क्रिमियालाई आफ्नो भूमिमा समाहित गरेको विरोधमा अमेरिकाले रुसमाथि कारबाही गर्ने धम्की दिएसँग राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाएका थिए ।  –एएफपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस