
८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट वाईसीएलले देशभर १ लाख ६५ हजार नयाँ सदस्यता थप गर्ने भएको छ ।
काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय भएको पनि वाइसीएलले जनाएको छ ।
बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रिय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सम्पन्न एकता सर्वोच्च अदालतको फैसलाले भंग गरेसँगै वाइसीएल पनि ब्युँतिएको हो । वाइसीएलले संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय पनि भएको छ ।