८ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिन भित्र सम्पुर्ण कमि कमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आइतबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन् । उनले विमानस्थलभित्रका पूर्वाधार निर्माण, मर्मतलगायतले यात्रीहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको, उनीहरुले प्रभावकारी सेवा पाउन नसकेकाले सेवा चुस्त-दुरुस्त बनाएको अनुभव यात्रीलाई गराउन निर्देशन दिए ।
उनले विभिन्न किसिमका सम्झौता, सहमति कार्यान्वयन भए/नभएको सम्बन्धमा पनि सचेत हुनुपर्ने बताए । विमानस्थलभित्र निर्माणको कामले कतिपय असहजता थपेकाले सेवाग्राहीलाई प्रतिकूल असर नपर्ने गरी विमानस्थलका काम/कारबाही गराउन निर्देशन दिए । अर्को हप्ता पुनः निरीक्षण गर्न आउने पनि मन्त्री ढकालले बताए ।