मुख्य समाचार

आफ्नै नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्कँदै ट्रम्प

donald trump

९ चैत, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्कने तयारी गरिरहेको उनका सल्लाहकारले बताएका छन् ।

फक्स न्युजसँग बोल्दै जेसन मिलरले भने, “हामीले अबको दुई–तीन महिनामै ट्रम्पलाई फेरि सामाजिक सञ्जालमा देख्न पाउनेछौँ ।” उनका अनुसार ट्रम्पको नयाँ प्लेटफर्म सामाजिक सञ्जालहरुमध्येको सबैभन्दा चर्चित हुनेछ र सोसल मिडियाको दुनियाँलाई नै बदलिदिनेछ ।

अमेरिकी संसद्माथि हमला गर्न उक्साएको अभियोगपछि गएको जनवरीमा फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए । सो घटनामा पाँचजनाको मृत्यु भएको थियो भने त्यसले अमेरिकी लोकतन्त्रको जग नै हल्लाइदिएको बताइन्छ ।

त्यसको केही दिनपश्चात् ट्वीटरले ट्रम्पको व्यक्तिगत अकाउन्टलाई थप हिंसा भड्काउने जोखिमका कारण सधैँका लागि हटाइदिने निर्णय गरेको थियो । ट्रम्पले विगत १० वर्षदेखि ट्वीटरमार्फत समर्थकहरुमाझ आफ्ना भनाइहरु राख्ने गरेका थिए ।

जसमा उनका ९ करोड फलोअर थिए । ट्रम्पको नयाँ सञ्जालका बारेमा भने उनका सल्लाहकार मिलरले विस्तृत जानकारी दिएका छैनन् । आगामी दिनहरुमा ट्रम्पले के गर्छन् भनेर उत्साहपूर्वक प्रतीक्षा गरिरहन उनले सबैलाई आग्रह गरेका छन् । उनका अनुसार यो विषयमा ट्रम्प फ्लोरिडास्थित आफ्नो रिसोर्टमा विभिन्न उच्चस्तरीय बैठक बसिसकेका छन् ।

आफ्नो टिमसँग पनि छलफल गरिरहेका छन् । मिलर भन्छन्, “धेरैवटा कम्पनीले ट्रम्पसमक्ष प्रस्ताव राखिसकेका छन् । त्यसैले यो नयाँ प्लेटफर्म धेरै ठूलो हुनेछ र लाखौँ÷करोडौँलाई आकर्षित गर्नेछ ।” -बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस