९ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन् । सोमबार सामुदायिक रेडियो प्रसारक संघ नेपालको २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरुको अनुगमन आवश्यक रहेको धारणा राखेका हुन् ।
सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणको नभई राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । सामुदायिक रेडियोहरु समुदायको निम्तिभन्दा पनि पार्टी र नेताहरुको चुनावी प्रचारप्रसारको माध्यम बनेको भन्दै विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्नका लागि यसको नियमन आवश्यक रहेको उनको तर्क छ ।
“सामाजिक रुपान्तरणको निम्ति भन्दाखेरी पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरूमा पनि व्यक्तिहरुको आफ्नो चुनाव प्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाबाट रेडियो धेरै जन्मिएको त होइन ? यी रेडियोहरुको जन्म कुन उद्देश्यबाट भएको थियो, कसरी स्थापना भएको थियो र अहिले रेडियोको प्रतिस्पर्धा किन भइरहेको छ र रेडियोको फ्रिक्वेन्सी दिनै सकिदैन, जसले साँच्चै रेडियो सञ्चालन गर्न खोजिरहेको छ उसले फ्रिक्वेन्सी नपाउने, जसले फ्रिक्वेन्सी लिएको छ त्यो रेडियोचाहीँ सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार चलेको छ कि छैन त्यो एकपटक फेरि पनि हामीले समीक्षा गर्ने कि नगर्ने ? रेडियोको स्थापना र उद्देश्य अनुरुप छ कि छैन त्यो कुरोको पनि एकपटक समीक्षा गरौँ । यसको उद्देश्यमा यसको नीतिको मर्म विपरित कहीँ रेडियो सञ्चालन भइरहेको छ र रेडियो जन्म भएको छ भनेपनि यसप्रति हामीले यसलाई नियमन गर्ने को ? सरकारले नियमन गर्दा त विरोध भइहाल्न सक्छ । यसको निम्ति सामुदायिक रेडियो प्रसारक संघले नै आफैंले आफैंलाई कसरी व्यवस्थित गर्ने ? आचारसंहिता निर्माण गर्न सकुन् । आफुहरुको बीचमा यसले दिइरहेको नकारात्मक सन्देश, समाजमा दिइरहेको विकृति, विसंगति र अराजक शैलीहरुप्रति कसरी यसलाई नियन्त्रण गर्ने, अकोरावले आफ्नै आचारसंहिता बनाएर मर्यादित बनाउने, जिम्मेवार बनाउने, गरिमालाई उच्च बनाउने काममा तपाईहरु लाग्नुस् ।,” उनले भने ।
सरकारले सामुदायिक रेडियोको नियमन गर्दा विरोध हुने भन्दै मन्त्री गुरुङले सामुदायिक रेडियो प्रसारक संघलाई नै सामुदायिक रेडियोको नियमन गर्न आग्रह गरे ।