
१० चैत, काठमाडौं । प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ । कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुला बजारमा हस्तक्षेप गर्दै अहिले बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर कार्यान्वयन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको छ ।
खुला बजारमा अहिले पिउने पानी प्रतिजार ३० देखि ४५ रूपैयाँमा बिक्री भइरहेको छ । संसदीय समितिले काठमाडौंमा प्रतिजार अधिकतम एमआरपी मूल्य ४७ रूपैयाँ तोकेर कार्यान्वयन गर्न वाणिज्य विभागलाई निर्देशन दिएको छ । समितिको निर्देशन विभागले कार्यान्वयन गरेर मूल्य तोके उपभोक्ताले प्रतिजार पानीमा थप १७ रूपैयाँसम्म तिर्नुपर्छ । काठमाडौं उपत्यकामा पानीको प्रतिजार लागत मूल्य १८ रूपैयाँ छ ।
लागतभन्दा २९ रूपैयाँ बढी मूल्य तोकिएको छ । उपत्यकाबाहिर अधिकतम खुद्रा मूल्य प्रतिजार ६० रूपैयाँ तोकिएको छ। समितिको निर्देशनलाई विभागले कार्यान्वयन गरेर मूल्य तोके यही बहानामा मूल्य बढाउने व्यापारीको योजना छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।