१० चैत, काठमाडौं । अनेक प्रपञ्च गरी व्यक्तिका नाममा पुगेको धोबीखोलाको ८ रोपनी ३ आना जग्गा एक दशकपछि सरकारकै नाममा फिर्ता भएको छ । मालपोत कार्यालय डिल्लीबजारले हाँडीगाउँस्थित भत्केको पुलनजिकको जग्गा सरकारका नाममा कायम गरेको हो ।
डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टुना श्रेष्ठले सर्वोच्च अदालतको फैसला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा चैत २ गते त्यो जग्गा फिर्ता लिइएको बताए । प्रमुख मालपोत अधिकृत श्रेष्ठका अनुसार सरकारको नाममा ल्याएर जग्गा संरक्षणका लागि धनीपुर्जा काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भूमिसुधारमन्त्री डम्बर श्रेष्ठका पालामा २०६७ सालमा मन्त्रिपरिषद्को निर्णयमार्फत नै गुठीको जग्गामा मोही कायम गर्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार मोही कायम भई २०७१ कात्तिक ३ गते पूर्णबहादुर थापासहित पाँच जनाको नाममा दर्ता भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।