१० चैत, कैलाली । कैलालीको लम्कीमा गोली चलेको छ । बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । सो क्रममा प्रहरीको गोली लागेर २ जना आन्दोलनकारी घाइते भएको छन् ।
घाइतेमा लम्कीचुहा नगरपालिका १ का १८ वर्षीय दीपक सन्ज्याल र २५ वर्षीया कृष्ण काफ्ले रहेको प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितर-बितर बनाउन हवाई फायरसमेत गरेको छ । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।