मुख्य समाचार

२९ लाख डलरमा बिक्री भयो विश्वकै पहिलो ट्वीट

jack first tweet

१० चैत, काठमाडौं । ट्वीटरका संस्थापक ज्याक डोर्सीले गरेको विश्वकै पहिलो ट्वीट २९ लाख डलरमा बिक्री भएको छ । मलेसियामा आधारित ब्रिज ओरेकल प्राविधिक कम्पनीका प्रमुखले उनको सो ट्वीट खरिद गरेका हुन् ।

‘जस्ट सेटिङ अप माइ ट्वीटर’ भनेर लेखिएको सो ट्वीट सन् २००६ मार्च २१ तारिखमा पोस्ट गरिएको दुनियाँकै पहिलो ट्वीट थियो । डोर्सीले त्यसलाई एक च्यारिटीका लागि भनेर लिलामीमा राखेका थिए । मलेसियाका खरिदकर्ता सिना एस्ताभीले यस बिक्रीलाई मोनालिसाको पेन्टिङ खरिद गरेकोसँग तुलना गरेका छन् ।

यो कारोबार बिटकोइनको प्रतिस्पर्धी अर्को डिजिटल क्रिप्टोकरेन्सी, ‘एथर’मार्फत गरिएको थियो । यो ट्वीटलाई ‘नन–फन्जिबल टोकन (एनएफटी) का रुपमा बिक्री गरिएको एस्ताभीले सोमबार बताए । एनएफटी भनेको एउटा विशेष किसिमको डिजिटल ‘सर्टिफिकेट’ हो, जसमा कुनै तस्बिर, भिडियो वा अनलाइन मिडियाका सामग्री कसको स्वामित्वमा छ भनेर आधिकारिक रुपमा उल्लेख गरिएको हुन्छ । प्रत्येक एनएफटीको आफ्नै विशेषता हुन्छ र संकलित सामग्रीको कुनै नक्कली स्वरुप बनाउन सकिँदैन जसले यसको डिजाइनलाई दुर्लभ बनाइदिन्छ ।

यस वर्ष एनएफटीको लोकप्रियता अत्यधिक वृद्धि भएको छ । धेरै डिजिटल कलाका कामहरु यसमार्फत बिक्री भएका छन् । डोर्सीले बिक्रीबाट प्राप्त रकम बिटकोइनमा परिणत गर्ने र त्यसपछि अफ्रिका रेस्पोन्स फन्डलाई सिधै दान गरिने बताएका छन् । खरिदकर्ता एस्ताभीले भने, “यो कुनै सामान्य ट्वीट होइन । मेरो विचारमा वर्षौँपछि मानिसहरुले यस ट्वीटको मूल्य बुझ्नेछन्, जुन मोनालिसाजस्तै हुनेछ।”

डोर्सीको यो ट्वीट अनलाइनमार्फत लिलामी गरिएको थियो । लिलामीबाट प्राप्त रकमको ९५ प्रतिशत डोर्सीले पाउँछन् भने बाँकी ५ प्रतिशत यसलाई सञ्चालन गर्ने अमेरिकी कम्पनी सेन्टको प्लेटफर्म ‘भ्यालुएबल्स’ले लिनेछ । तर, लिलामी भइसके पनि सो ट्वीट सार्वजनिक रुपमा उपलब्ध हुनेछ । लिलामी सुरु भएको केही मिनेटमै यसको मूल्य ८८ हजार डलरभन्दा धेरै पुगिसकेको थियो ।

लिलामीपछि डोर्सीले डिजिटल रुपमा हस्ताक्षर गरी प्रमाणित गरेको सर्टिफिकेट एस्ताभीलाई प्रदान गर्नेछन् र ‘ओरिजिनल ट्वीटको मेटाडाटा’ पनि उनलाई दिइनेछ । सो डाटामा ट्वीट गरिएको समय र यसका ‘टेक्स्ट’ सामग्रीलगायत जानकारी समावेश हुनेछ । सामाजिक सञ्जालका विज्ञहरुको प्रक्षेपणअनुसार ट्वीटलगायत अन्य अनलाइन पोस्टहरुको यस्तो खरिद–बिक्री आगामी दिनहरुमा झन् बढी लोकप्रिय हुनेछ ।

प्राविधिक कन्सल्टेन्सी ‘फ्युचर्स इन्टेलिजेन्स ग्रुप’की संस्थापक क्याथी हेकल भन्छिन्, “हामी त्यो युगमा छौँ, जहाँ सेलिब्रेटी, संगीतकारलगायत प्रभावशाली व्यक्तिहरुका अत्यन्तै धेरै फ्यान छन् र उनीहरु सबै आफ्नो स्टारको कुनै हिस्सा पाउन चाहन्छन् । मान्छेहरुले भौगोलिक वस्तु किनेजसरी नै आफ्नो स्टारसँग नजिक महसुस गर्न तिनका ट्वीट, पोस्ट र स्न्यापहरु खरिद गर्नेछन् ।” बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *