
१० चैत, काठमाडौं । मङ्गलबार सेयर बजार १४.५७ अङ्कले वृद्धि भएको छ ।
०.५८ प्रतिशतले बढेको बजारमा ५ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा कम्पनी, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहमा वृद्धि भएको छ भने बैंकिङ समूह, विकास बैङ्क समुह, फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूहतर्फ भने गिरावट आएको छ ।
आजको बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य उचालिएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिसेयर ११ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । यसको बजार पुँजीकरण अहिले २२ अर्ब १७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
यता निरन्तर बढिरहेको चन्द्रागिरिको सेयर मूल्यको वृद्धि यात्रा रोकिएको छैन । यसको सेयर मूल्य मङ्गलबार ९.९८ प्रतिशतले बढेको छ । यसको प्रतिसेयर मूल्य १ हजार सात सय १९ रुपैयाँ रहेको छ । कारोबार रकमको आधारमा भने नेपाल इन्फ्रास्टक्चर बैङ्क अगाडी छ । यसको आज ५२ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।