
१० चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार स्वदेश फर्किएकी छन् । मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरे ।
भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न चार विषयमा समझदारी भएको छ । पर्यटन सहयोग, सरसफाइ, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी समझदारी भएका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको बताए ।
यस्तै, ऊर्जा व्यापारको लागि द्धिपक्षीय सहकार्यलाई अघि बढाउने, द्धिपक्षीय व्यापारको प्रवर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवं सहज ढंगबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट उच्चतम उपयोग गर्ने विषयहरुमा छलफल भएको उनले बताए ।