
१२ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल -झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हाम्रो पक्षका नेताहरु जो काठमाडौंमा उपलव्ध छन् उहाँहरूसँग छलफल गर्न बैठक बोलाइएको हो’, ज्ञवालीले भने, ‘धेरै सदस्यहरु त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई खवर गरिएको छ ।’
ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए। यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरू सहभागी भएका थिएनन् ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै माधव(झलनाथ पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।
यस्तै बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता नेपालसहित, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरू जुटेका छन् ।