१२ चैत, काठमाडौं । मेलम्चीको पानी यही चैत्र १५ गते देखि काठमाडौंका धारामा आउने भएको छ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी अबको तिन दिनमा काठमाडौंका धारामा पठाउने भएको हो ।
आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानीले पूर्णता पाउन लागेको हो । गत फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा मेलम्चीको पानी सुरुङ मार्फत पठाइएको थियो। परिक्षण सफल भएपछि आयोजनाले धारा–धारामा पानी पठाउन लागेको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राई काठमाडौंका धारामा पुरानै पाइपलाइनबाट पानी पठाउने तयारी रहेको बताउँछन् । ‘‘हामीले पहिलो साता साढे आठ करोड र त्यसपछि साढे आठ करोड लिटर गरी १७ करोड लिटर धारामा पठाउनेछौँ,” उनले भने, ‘‘अहिलेसम्म ८० हजार धारामा पाइपलाइन जडान गरिएको छ । कुल एक लाख १० हजार धारामा पानी जोड्ने लक्ष्य थियो । अझै तीस हजार धारामा पाइपलाइन जडान गर्न बाँकी छ ।”
मेलम्चीको पानी वितरणका लागि नयाँ पाइप बिच्छ्याइए पनि त्यसको परीक्षण नभएको उनले बताए । ‘‘खानेपानी वितरणका लागि अन्तिम परीक्षण बाँकी छ । पुरानै पाइपबाट पानी पठाइनेछ । पुराना पाइपबाट पठाइएको पानी चुहावट भएर सडक हिलाम्य हुन दिने छैनौँ । त्यसपछि नयाँ पाइप परीक्षणका लागि १० प्रतिशत पानी पठाइनेछ । परीक्षण अवधि करिब तीन महिना रहनेछ,” उनले भने ।