
१२ चैत, काठमाडौं । कोरोना सङ्क्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिए ।
केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परेको बताइएको छ । सुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई बिर्तामोडस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उहाँको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको बिहीबार बिहान अस्पतालमै निधन भएको जनाइएको छ । मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा कनकाई घाटमा अन्त्यष्टि गरेको छ ।