१२ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहबीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले हालै जिम्मेवारी सम्हालेका राजदूत हैदरलाई सफल कार्यकालको शुभकामना दिए ।
सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्षलामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरे । उनले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहिहरुले यसै वर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गरेको न्यानो स्वागत र प्रदान गरेको हौसालाका लागि आभार व्यक्त गरे ।
संघीय संसदमा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढिकरण गर्दै दुबै देशको सम्बृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताए । उनले दुइ देशबीच कृषि, हाइड्रोपावर, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औंल्याए ।
राजदूत हैदरले दुई देशबीच औपचारिक सम्बन्धले छ दशक पार गरेको र जनता–जनताबीच लामो ऐतिहासिक र साँस्कृतिक सम्बन्ध रहेको चर्चा गरे । उनले आफ्नो कार्यकालमा नेपालमा व्यापार लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । पर्वतारोहण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उनको भनाई छ ।
राजदूत हैदरले नेपाली नेतृत्वले दक्षिण एशियाली सहयोग संगठन सार्कको स्थापनाकालदेखि नै अबलम्बन गरिरहेका विषय प्रशंसनीय रहेको चर्चा गर्दै सार्कका माध्यमबाट बहुपक्षीय सम्बन्धका साथै क्षेत्रीय शान्ति र सम्बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।