
१२ चैत, पाँचथर । यहाँको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ ।
निर्माणाधीन तमोर करिडोर सडकको कुम्मायक गाउँपालिका–४ वन थाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर आज चिप्लिएर दुर्घटना भएको हो । भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५०० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानो गाउँका २८ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उक्त दुर्घटनामा चालकको टाउको र शरीर फरक फरक स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।
तारे भीरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ । चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सामुदायिक वन क्षेत्र भएकाले यहाँ सडक विस्तारको कार्य लामो समयदेखि अवरुद्ध थियो ।
हालैमात्र यहाँ सडकको ट्र्याक खोल्ने काम शुरु भएको थियो ।