
१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफुहरुको मागप्रति सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । शुक्रबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दामा प्रधानमन्त्री ओली सकारात्मक र गम्भीर रहेको बताएका हन् ।
अध्यक्ष ठाकुरले मधेस आन्दोलनताका कतिपय मुद्दाहरु जिल्ला अदालत, कुनै उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधीवक्ताको कार्यालयसँग राय मागिएको बताए । उनले प्रधानमन्त्री ओली आफूहरूको मागलाई गम्भीरतापूर्वक लिएको तथा तीमध्ये कतिपय माग सम्बोधनबारे गृह कार्य समेत अगाडि बढाइएको दाबी गरे ।
‘प्रधानमन्त्रीसँग भएको पटक/पटक भएको वार्ता सकारात्मक रह्यो,’ अध्यक्ष ठाकुरले भने, ‘वार्ताको क्रममा विभिन्न मागबारे भएको सहमतिको सम्बोधन हुनेमा हामी विश्वस्त छौं ।’ अध्यक्ष ठाकुरले राजनीतिकलाई विवादभन्दा पनि छलफल र संवादको साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै नेकपा एमालेबीचको किचलोको कारण मुलुक अनिर्णयको बन्दी बनेको दाबी समेत गरे ।