१३ चैत, काठमाडौं । विश्व बैंकले म्यानमारमा आर्थिक मन्दीको चेतावनी दिएको छ । शुक्रबार विश्व बैंकले म्यानमारको अर्थतन्त्रको पूर्वानुमान गर्दै यो वर्ष यहाँको अर्थतन्त्रमा १० प्रतिशतले मन्दी लाग्ने प्रक्षेपण गरेको हो ।
गत फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेपछि बढेको प्रदर्शन, मजदुर आन्दोलन, सैन्य कारबाही लगायतले आर्थिक गतिविधि ठप्प भएको छ । यसअघि यहाँको आर्थतन्त्र उकालो लाग्ने अनुमान गरिएको थियो ।
सैन्य ‘कू’लाई विफल तुल्याउन अमेरिका र बेलायतले सैन्य अधिकारीको लगानी रहेका कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
सेनाले निर्वाचित सरकारलाई हटाएर सत्ता हातमा लिएपछि म्यानमारमा नियमित जसो प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीमाथि सेनाले हिंसात्मक रुपमा दमन गर्दा हालसम्म ३२० प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लामो समयदेखि म्यानमारको अर्थव्यवस्था सेनाको नियन्त्रणमा छ । सेनाले होल्डिङ फर्म र सहायक कम्पनीमार्फत यहाँको मदिरा, चुरोट, टेलिकम, टायर, खनिज र रियल स्टेटमा ठूलो लगानी गरेको छ ।