
१४ चैत, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७७/७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित हुनुभएको भनी गरेको घोषणालाई साधारणसभाले अनुमोदन गरेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको तेह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को प्रभावको कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारणसभा गर्नुपरेको व्यहोरा अनुरोध गर्दै शेयरधनीहरूलार्ई आकर्षक प्रतिफल उपलब्ध गराउन र कम्पनीको वित्तीय स्वास्थ्य मजबुत बनाउन सञ्चालक समिति सधैँ प्रतिबद्ध रहँदै आएको बताए ।
कम्पनीले तुलनात्मक रुपमा लाभ नहुने विकट क्षेत्रमा समेत स्याटेलाइट र अन्य प्रविधिको माध्यमबाट सेवा उपलब्ध गराइरहेको बताउँदै उनले कम्पनीले विश्वबजारमा उपलब्ध अत्याधुनिक दूरसञ्चार प्रविधि भित्र्याउनुका साथै मुलुकमा विद्यमान मुद्रास्फितिका बाबजुद आकर्षक महशुल दरमा सेवा उपलब्ध गराउँदै आएको बताए ।
अनेकौं चुनौती एवं जोखिमका बाबजुद आ.व. २०७६/७७ मा कुल राजस्व र खुद नाफा क्रमशः रू. ४२ अर्ब ९९ करोड र रू. ९ अर्ब ७५ करोड कायम गर्न कम्पनी सफल भएको बताउँदै उनले सेवाको गुणस्तर स्त्तरोन्नती, ग्राहकवर्गको अपेक्षा सम्बोधन तथा प्रतिस्पर्धी मूल्यमा सेवा प्रवाह गर्न सदैव तत्पर रहेको बताए ।
इन्टरनेट सेवामा आधारित दूरसञ्चार सेवा विस्तार गरी कम्पनीको राजस्व वृद्धि गर्न वायरलेस प्रविधिको फोरजी/एलटीई मोबाइल सेवाको विस्तार, एफटीटीएच सेवाको विस्तार, अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार एवं सेवाहरूको गुणस्तर सुधार लगायतका कार्यहरूमा स्रोत/साधन केन्द्रीकृत गरेको बताउँदै राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा कम्पनीले मोबाइल फाइनान्सियल सर्भिस प्रदान गर्न आफ्नो सहायक कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरेको जानकारी गराउनुभयो ।
कम्पनीको एफटीटीएच प्रविधिमा आधारित आइपीटीभी सेवा एनटीटीभी ब्राण्डमा उपलब्ध भइसकेको सन्दर्भमा एउटै तारबाट भ्वाइस, इन्टरनेट तथा टिभी उपलब्ध हुने भएकाले कम्पनीको व्यावसायिक जीवनमा उक्त सेवा कोसेढुङ्गा सावित हुने विश्वास लिएको उनले बताए।
कम्पनीका चालु तथा नयाँ आयोजनाहरु अन्तर्गत वायरलाइन, वायरलेस, सूचना प्रविधि तथा बिलिङ र व्याकबोन प्रसारणतर्फ भइरहेका कार्यहरु बारेमा चर्चा गर्नुका साथै कम्पनीले गरेको लगानी विविधिकरणका बारेमा समेत उनले जानकारी प्रदान गरेका थिए । तेह्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आज (२०७७ चैत १३ गते) देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।