
१५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ ।
यो साता युकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको संयोजक डां सापकोटाले बताए । हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार ३७ जनाको निधन भएको छ ।
स्वास्थ्य समितिका संयोजक डा सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह समेत गरेका छन् ।