
१५ चैत, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको छ । दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो ।
महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढी स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको छ ।
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै उपत्यकाभरि चेकप्वाइन्ट राखिएको छ, विशेषगरी होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी बाइक चलाउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिविधिमा संलग्न चालकहरु उपर निग्रानी बढाई कडाईका साथ कारवाही गरिएको बताए ।
उनले रङ्गहरुको पर्वमा सबैजना फेस्टिभ मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, नसालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर हाम्रो चेकिङ्लाई कडा बनाइएको हो, आजदिनभरि छिटफुट दुर्घटना भएको बताए ।
महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई पनि कारबाही गरेको छ । यस्तै १३ वटा चार पांग्रे र ४६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा २१ वटा सामान्य किसिमका दुर्घटना भएको महाशाखाको भनाइ छ । एयरपोर्टमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको केएमसी र बूढानीलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाइते चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।