
१६ चैत, काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप सोमबार बिहान आइपुगेको हो । आइतबार नेपाल एयरलाइन्सको विमान चाइना गएको थियो ।
आज बिहान बेइजिङ अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको विमान चाटर्ड गरेर खोप ल्याइएको हो । चीनले गत फागुन १७ मा नेपाललाई अनुदानस्वरूप आठ लाख डोज सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीन सरकारले उपलब्ध गराएको खोप कहिलेदेखि र कसलाई दिने भन्ने अहिले नै यकिन भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।
यसअघि भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप सरकारले प्राथमिकताका आधारमा नागरिकलाई पहिलो डोज दिइसकेको छ ।