
१६ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाग्लुङको घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विहान विज्ञप्ति जारी गर्दै बागलुङ घटना अमानवीय र निन्दनीय भन्दै दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकार समक्ष माग गरेका हुन् ।
घटना होली खेल्ने क्रममा भएको असमझदारी र आवेगको परिणाम हो वा योजनाबद्ध षड्यन्त्र भन्दै यसमा गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्नुपर्ने माग विज्ञप्तीमा उल्लेख छ । आइतबार बागलुङ, गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा होली खेल्ने क्रममा दुई समूहबीच भएको झपडमा २ जनाको मृत्यु भएको हो ।
भिरबाट खसाल्दा निसीखोला–७ का ३८ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्ण बहादुर पल्ली मगरले जानकारी दिएका छन् । उनीहरुको शव नजिकैको भीरबाट चार सय मिटर तल भेटिएको छ। मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् ।
घटनाको वास्तविक विवरण लिन, स्थानीयवासीसँग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल पुगिरहेको पनि विज्ञप्तीमा उल्लेख छ ।