
१७ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भोलिको बैठकमा केही वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस गर्ने तयारी छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभाका सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । साथै विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले आफ्नो समितिको वार्षिक प्रतिवेदन बुझाउने कार्यसूची तय गरिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको १ महिना समय बितिसक्दा पनि सदनको कामकारवाही नियमित लयमा फर्कन सकेको छैन् । सरकारले सदनलाई काम गर्नका लागि ‘बिजनेस’ नदिएका कारण सदनमा हुने नियमित गतिविधि सञ्चालन हुन सकेको छैन् भने विभिन्न विषयगत समितिबाट पारित भएका विधेयकहरु पास हुन सकेका छैनन् । प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गर्न र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश गर्नमै सिमित बन्दै आएको छ ।