
१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधि बिचको छलफल सकारात्मक भएको भएको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए ।
फोहोर विसर्जनमा अवरोध भएपछि आज राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उनीहरुसँग करीब पाँच घण्टा छलफल गरेपछि पुनः भोलि एक बजे बस्ने र निर्णयमा पुग्ने गरी छलफल स्थगन भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । छलफलका क्रममा उनीहरुका माग सम्वोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका वासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि केही प्रस्ताव अघि सारेपछि उनीहरु सकारात्मक बनेका हुन् ।
छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका थिए ।
त्यसैगरी प्रमुख शाक्यले यस अघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे । यस अघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि व्यक्त गरेपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरे ।
‘उहाँहरुले प्रभावित क्षेत्रका विद्यालयहरुमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको लागि दरबन्दी माग गर्नुभएको छ,’ शाक्यले भने, ‘उहाँहरुको त्यो मागप्रति सकारात्मक बन्दै नेपाल सरकारबाट स्थायी दरवन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उहाँहरुले नै व्यवस्था गर्ने गरी अस्थायी दरवन्दीका ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छौँ ।’
छलफलमा सहभागी नुवाकोट जिल्लाका प्रदेश सांसद बन्द्री मैनाली ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा, प्रभावित क्षेत्रका वडाका वडाध्यक्ष, धुनिवेँसी नगरपालिकाका प्रभावित क्षेत्रका वडाध्यक्ष, विभिन्न सरकोकार समितिका प्रतिनिधिले छलफलका क्रममा विभिन्न माग राखेको थिए । उनीहरुले आफूहरु फोहोर विसर्जनका लागि अवरोध गर्ने पक्षमा नभएको भन्दै माग सम्वोधनमा सकारात्मक बन्न दबाब दिएका थिए । अध्यक्ष लामाले फोहोर विसर्जनमा अवरोध गर्नु आफूहरुको बाध्यता भएको बताए ।
‘हामीलाई पनि फोहोर रोक्न मन छैन,’ लामाले भन्नुभयो, ‘हाम्रा जायज माग सम्वोधन गर्नुहोस् । फोहोर विसर्जनमा अवरोध हुँदैन । काठमाडौँका मात्रै जनता हुन् सिसडोल प्रभावित क्षेत्रका जनता नै होइनन् भन्ने ढंगले राज्यले बुझ्नु भएन । यहाँका जनताको मानवअधिकार हनन् हुनुभएन भन्ने मात्रै हाम्रो भनाई हो ।’
ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता लामाले पनि फोहोर व्यवस्थापनको विकल्प खोज्नुपर्नेमा जोड दिदैँ राज्यले दमन गरेर फोहोर विसर्जन गर्नेमा भन्दा पनि स्थानीयका माग पूरा गरेर सहमतिमा अघि बढ्नु पर्नेमा जोड दिइन् । छलफलका क्रममा अधिकार सम्पन्न समिति गठन हुनुपर्ने लगायतका माग अघि सारिएको थियो । उनीहरुले विगतमा पनि पटक–पटक सम्झौता कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको भन्दै नुवाकोटका सबै दलका शिर्ष नेतासहितको उपस्थितिमा भोलि १ बजे छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन् ।
भोलिको बैठकमा पुर्व मन्त्रीहरु डाक्टर रामशरण महत, डाक्टर प्रकाशचन्द्र लोहनीलगायतका नेतालाई पनि सहभागी गराउने र अन्तिम निष्कर्षमा पुग्ने सहमतिसहित बैठक समापन भएको काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।