
२० चैत, पोखरा । बागलुङको वडिगाडमा फागु पूर्णिमाको दिन दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यलय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो । चैत १५ गते होली खेल्ने क्रममा बल्देधुरीमा झडप हुँदा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाई मारिएका थिए ।
प्रहरीले घटनामा संलग्न बडिगाड गाउँपालिका–१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दुईजनालाई गुल्मीको मदानेबाट, एकजनालाई रुपन्देही, एकजनालाई बुर्तिबाङ, दुईजनालाई दर्लिङबाट पक्राउ गरिएको जनाएको छ ।
सो घटनाका दुई आरोपित भने जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए । पीडित पक्षले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।